युक्त अरब इमिरेट्स (युएई) ले मंगलबारदेखि लागू हुने गरी तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) तथा यसको साझेदार समूहबाट बाहिरिने घोषणा गरेको छ।
यूएईका ऊर्जा मन्त्री शुसील एई माजरोउइले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतदेखि नै विश्व तेल मूल्य निर्धारणमा ओपेकको भूमिकाको आलोचना गर्दै आएका थिए ।
यूएई र ओपेक बीचको तनाव केही समयदेखि बढ्दै आए पनि, यो निर्णय इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटकै बीच आएको हो।
अमेरिका र इजरायलका आक्रमणको प्रतिक्रियास्वरूप इरानले ‘स्ट्रेट अफ हर्मुज’लगभग बन्द गरेपछि विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ।
यसैबीच अमेरिकाले इरानी बन्दरगाहहरूमा आफैपनि नाकाबन्दी गरेको छ।
सन् २०१९ मा कतारले सदस्यता अन्त्य गरेपछि ओपेक छोड्ने दोस्रो खाडी राष्ट्र यूएई बनेको हो।
यूएई सन् १९७१ देखि ओपेकको सदस्य थियो। यूएई गठन हुनुअघि नै अबुधाबीले सन् १९६७ मा स्वतन्त्र रूपमा ओपेकमा प्रवेश गरेको थियो। यूएई बाहिरिएपछि ओपेकमा अब ११ मुख्य सदस्य राष्ट्र बाँकी रहनेछन्। जसमा अलजेरिया, कंगो, इक्वाटोरियल गिनी, गावोन, इरान, इराक, कुवेत, लिविया, नाइजेरिया, साउदी अरेबिया र भेनेजुएला रहेका छन्।







प्रतिक्रिया