प्रधानमन्त्री बालेनले उपकुलपतिसँग छलफल गर्ने

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको दाहालले जानकारी दिइन्।

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या तथा समाधानका उपायबारे विस्तृत विमर्श हुने बताइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूबारे पनि छलफल केन्द्रित रहनेछ।

छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय का उपकुलपतिसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।

त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालका उपकुलपतिहरू पनि छलफलमा उपस्थित हुनेछन्।

प्रतिक्रिया