काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५’ बिक्री गर्ने भएको छ ।
तीन वर्षे अवधिको यस ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । ऋणपत्रको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो बजार कारोबार हुनेछ ।
यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइने छ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आय करसमेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्ने छन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।
सरकारले चालु आवमा तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।








प्रतिक्रिया