काठमाडौं । संसदबाट बजेट पारित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले सांसदहरुप्रति व्यंग्य गरेका छन् ।
एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै उनले सांसदहरुलाई केन्द्रित भई व्यंग्य गरेका हुन् । उनको व्यंग्य मुख्यतः मधेश केन्द्रित दलप्रति छ ।
१५ जेठमा अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘‘तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’
राउतले भने आफ्नो पार्टीले बजेटको विपक्षमा मतदान गरेको बताए । आफूहरुले सिद्धान्तको राजनीति गरेको भन्दै उनले लेखेका छन्, ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ ।’




प्रतिक्रिया