काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कार्याकालको छोटो समयमै विवादमा तानिएका छन् । उपचारका लागि भारत गएर स्वदेश फिर्ता भएसँगै उपचार खर्चलाई लिएर विवादमा तानिएका राष्ट्रपति यतिखेर नागरिकता विधेयकलाई लिएर अझ विवादित बनेका हुन् ।
नागरिकता प्रमाणीकरणकै विषयलाई लिएर यतिखेर विपक्षीले संसद चल्न दिएको छैन । राष्ट्रपति पौडेलले यसअघि देखि नै विवादमा रहेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जानु पूर्वसन्ध्यामा प्रमाणीकरण गरेका थिए ।
प्रथम राष्ट्रपति रामवरण यादव र द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारी पनि आआफ्नो कार्यकालमा कतिपय कदमका कारण आलोचित हुन पुगेका थिए।
तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई अवकाश दिने प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको निर्णय कार्यान्वयन हुन नदिएपछि यादव विवादमा मुछिए।
त्यसैगरी केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन राष्ट्रपति भण्डारीको आलोचना भएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिस अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगर्दा पनि उनी विवादमा मुछिइन्। एकथरीले सरकारकै कदमका कारण राष्ट्रपतिहरू विवादमा मुछिने गरेका बताउँदै आएका छन्। निर्वाचित भएको तीन महिना पनि नपुग्दै वर्तमान राष्ट्रपति पौडेल कम्तीमा तीनवटा विवादमा मुछिएका छन्। सर्वसाधारणलाई मार नपर्नेगरी आफ्नो सवारी गर्न लगाएकोमा चाहिँ धेरैले उनको प्रशंसा पनि गरेका छन्।



प्रतिक्रिया